सनसाइन बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न ।

सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८, नागढुङ्गा कास्कीको २३ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री अग्निप्रसाद कँडेलको अध्यक्षतामा २०७९ आश्विन १० गते सोमवारका दिन ह्वाइट हाउस पार्टी प्यालेस, पोखरा–८, सिर्जनाचोकमा सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकारका माननीय अर्थमन्त्री रामजी प्रसाद बरालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेश सभासद माननीय राजीव पहारीको उपस्थिति रहेको थियो । नेफ्स्कुन फिल्ड प्रमुख यमकला पौडेल, गौरीशंकर साकोसका अध्यक्ष श्री रुद्रनाथ पौडेल, रामघाट साकोस अध्यक्ष श्री यशोदा देवी गुरुङ्ग, संगम साकोसका उपाध्यक्ष श्री बुद्धिमान थापा, लगायत विभिन्न संघसंस्थाबाट अतिथिज्यूहरुको उपस्थिती रहेको थियो ।
संस्थाका सचिव नवराज अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री नेत्रलाल भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै शिक्षा उपसमिति सदस्य श्री सम्झना गुरुङ्गले सहकारी सात सिद्धान्त वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विभिन्न विधामा असल कारोबार गर्ने १६ जना सदस्यहरु र SEE तथा उच्च शिक्षा हासिल गर्ने सदस्यका छोराछोरिहरुलाई सम्मान गरिएको थियो । त्यस्तै वर्ष उत्कृष्ट कर्मचारी श्री पार्वती ज्ञवालीलाई प्रदान गरिएको थियो ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले नेपालमा उत्पादन कम भएकाले सहकारीहरुले उत्पादनलाई जोड दिनुपर्ने भन्दै राष्ट्रिय पूँजी विकासका लागि आयातलाई घटाउँदै स्वदेशमा उत्पादनको मात्रा बढाउन आग्रह गर्नुभयो । बजारमा मुठ्ठीभरका उद्योगपतिहरुको एकाधिकार चल्दैगर्दा गुणस्तरहीन वस्तु उत्पादन हुने र आम नागरिकले समस्या खेपिरहने अवस्थाबाट सहकारीले मुक्ति दिनुपर्ने उहाँको भनाइ थियो । सहकारी नाफा कमाउने नभएइ सेवा दिने र साना उद्यमीहरुलाई उद्यमशील बनाउनका लागि भएको पनि उनले बताए । पछिल्लो समय सहकारीहरु मर्म अनुरुप जान नसकेको सिद्धान्तभन्दा बाहिर पुगेको भन्दै सनसाइनलाई उनले प्रदेशलाई आत्मनिर्भर बनाउने बाटोमा हिँड्न आग्रह गरे । सहकारीका सात सिद्धान्तलाई अहिलेका सहकारीले बिर्सेका छन् ।सहकारीले आफ्नो पूँजीको ३० प्रतिशत उत्पादनसँग जोड्नुपर्छ । हाम्रो उत्पादन निकै खस्किएको छ त्यसैले गण्डकी प्रदेश सरकारले आम्दानीको ३० प्रतिशत उत्पादनमा लगानी गर्न अनुरोध गरेको छ’, उनले भने, ‘अहिले सहकारीको नाममा धन्दा चलिरहेको छ । साइनबोर्डमा एउटा काम भने अर्कै । अब बस्तु आयातलाइ कमजोर बनाइ निर्यातलाई बढवा दिन आवश्यक छ ।’
गण्डकी प्रदेशका सांसद राजीव पहारीले राज्यले सहकारीको वर्गीकरण गरिदिनुपर्ने बताए । उनले सबै सहकारी एकैनासको नभएको र सनसाइनजस्ता उत्कृष्ट सहकारीसमेत वर्गीकरण नहुँदा ओझेलमा परेको बताए ।
संचालक समितिका अध्यक्ष अग्निप्रसाद कडेँलले संस्थालाई बलियो बनाउने माध्यम आर्थिक पारदर्शीता रहेको बताउनुभयो । आर्थिक पारदर्शीताले मात्रै संस्थाको भविष्य उज्ज्वल हुने बताउँदै सेवाग्राहीका लागि थप सेवा र सुविधा दिने तयारी रहेको बताउनुभयो । संस्थाको परिकल्पना “समृद्ध सदस्य सुशासनयुक्त उत्कृष्ट सहकारी” बनाउन सम्पूर्ण शेयर सदस्यहरुको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
सहकारीका सचिव नवराज अधिकारीले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै गएको आर्थिक वर्षमा संस्थाले १ करोड ६१ लाख ३८ हजार २३१ रुपैयाँ नाफा कमाएको जानकारी गराए । कार्यक्रममा नेफस्कुन पोखरा फिल्ड प्रमुख यमकला पौडेल, संस्थाका संरक्षक गजकुमारी गुरुङ, सेयर सदस्य विष्णुकुमारी गुरुङ, गौरीशंकर सहकारीका अध्यक्ष श्री रुद्रनाथ पौडेल लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
आ.व. २०७९/०८० को बजेट संस्थाका कोषाध्यक्ष श्री नेत्रलाल भण्डारीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै विभिन्न आन्तरिक निति तथा कार्यविधि संसोधन सम्बन्धमा संस्थाका सञ्चालक सदस्य श्री टिकाराम ढुंगानाले प्रस्तुत गर्नुभएको थियो भने नयाँ निति तथा कार्यविधिहरु संस्थाका व्यवस्थापक श्री रोशन पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *